तङ्ग्रिने आशामा सोमपाल

काठमाडौँ — खेलाडीको खेलजीवन छोटो हुन्छ । अझ क्रिकेट खेलाडीमा तीव्र बलरको खेलजीवन निकै कम समयको हुन्छ । नेपालका तीव्र बलर सोमपाल कामी यसको अपवाद रहे । ६ वर्षअघिदेखि राष्ट्रिय टोलीबाट खेल्न थालेयता उनले निरन्तर नेपालको नयाँ बल आक्रमणको नेतृत्व गर्दै आएका थिए ।

सन् २०१४ को ट्वान्टी–२० विश्वकपमा अफगानिस्तानविरुद्ध प्रतिघण्टा १४०.८ को गतिमा बल फालेर सनसनी मच्चाएका उनै सोमपाल अहिले चोटले थलिएका छन् । फरक चोटले थलिएका उनलाई अब कहिले मैदान फर्कन्छु भन्ने थाहा छैन । कोरोना भाइरस (कोभिड–१९) को महामारीमाथि मानवीय जितको आशामा जस्तै उनी पनि आफ्नो चोट किनारा लगाउने दाउमा छन् ।
‘कोरोनाले गर्दा रिकभर हुन केही समय त पाएको छु । तर धेरै चिज गुमाएका छु किनभने मैले एमआरआई गराउन लागेको थिएँ । पूरै शरीर परीक्षण गराउन लागेको थिएँ, जिममा जान पनि सजिलो थियो,’ सोमपालले भने, ‘रिकभरीमा धेरै समय लाग्छ र त्यसअनुसार आराम गर्न पाइरहेको छु, त्यो अलग हो । कोरोना महामारी नआएको भए उपचार राम्रो पाएर चाँडो रिकभर हुनसक्थें होला ।’

भिटामिन ‘डी’ को कमीले गर्दा शरीरमा उत्पन्न समस्याका कारण उनले घरेलु मैदानमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद खेल्न पाएनन् । पोखरा प्रिमियर लिगमा पनि बुटवल ब्लास्टर्सबाट सबै खेल खेल्न सकेका थिएनन् । ओमान र अमेरिकासम्मिलित विश्व क्रिकेट लिग २ का सबै खेलका साथै त्यसपछि थाइल्यान्डमा भएको एसिया कप ट्वान्टी–२० छनोट गुमाएका थिए । चोटकै यही शृंखलाबीच २४ वर्षे उनले प्रतिभा घिमिरेसँगको प्रेमसम्बन्ध भने विवाहमा परिणत गरे ।

यो भन्दा अघि चोटका कारण सोमपाल कहिल्यै मैदानबाहिर बस्नुपरेको थिएन । उनले भने, ‘भिटामिन ‘डी’ को कमीले शरीर र मसल्स निकै दुख्ने रहेछ । यस्तो दुखाइ पहिला पनि भइरहेको थियो तर मैले खेलिरहेको थिएँ । यो दुखाइ बढिरहेको धेरै नै भइसकेको थियो । श्वास फेर्दा पनि दुख्न लागिसकेको थियो । एभरेस्ट हस्पिटलमा नेपाली टोलीले पूरा शरीर परीक्षण गराइरहेको थियो । त्यहीं समय लिएको थिएँ । एमआरआई पनि त्यही गराउँछु भनेर सोचिरहेको थिएँ । त्यसपछि मात्र उपचार सुरु गरौं भन्नेमा थिएँ । त्यसअघि धेरै डाक्टरलाई देखाइसकेको थिएँ । उपचारका लागि भारत पनि गएको थिएँ । स्टिफनेस हो, आराम गरेपछि जान्छ भनेका थिए डाक्टरले । भिटामिन ‘डी’ को डोज खाएपछि ठीक हुन्छ भनिएको थियो ।’

उनी आफूले भिटामिन ‘डी’ को डोज सबै खाइसकेको, प्रोटिन पनि खाएको तर शरीर रिकोभर नभएको जनाउँछन् । ‘भार बढी भएको थियो । मलाई टाइफाइड पनि भएको थियो । त्यसको कमजोरी हो भन्ने थियो । अहिले भिटामिन ‘डी’ र ‘बी’ प्लस खाइरहेको छु,’ उनी खेलाडी ट्रेडमा एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा यसपालि काठमाडौं किंग्स इलेभेनबाट चितवन टाइगर्समा मार्की खेलाडीको रूपमा आएका थिए । तर उनले चोटका कारण दुई महिनाअघि हुनुपर्ने ईपीएल खेल्ने सम्भावना कम थियो । कोरोनाका कारण ईपीएल पनि हुन सकेन । एकदिवसीय अन्तर्राष्ट्रियमा उनले अझ प्रभावकारी प्रदर्शन गर्दै आएका थिए । सन् २०१८ को अगस्टमा नेदरल्यान्ड्ससँगको खेलबाट नेपाल एकदिवसीय अन्तर्राष्ट्रियमा प्रवेश गर्दा दोस्रो खेलमै उनले ६१ रन प्रहार गरेका थिए । यूएईमा तीन खेलको शृंखलाका दोस्रो खेलमा उनले ५ विकेट लिएका थिए । नेपाली खेलाडीले एकै खेलमा ५ विकेट लिएको त्यो पहिलो अवसर थियो । पछिल्लो समय ब्याटिङ अलराउन्डरमा प्रभाव जमाइरहेका सोमपालबिनाको नेपाल थाइल्यान्डमा एसिया कप ट्वान्टी–२० छनोटमा एक खेलमात्र जित्दा छनोट हुन चुकेको थियो ।

‘एउटा खेलाडीका लागि मैदानबाहिर बसेर हेर्न गाह्रो हुन्छ । नेपालले जित्दा राम्रै अनुभव हुन्थ्यो, मैदानमै गएर हेर्दा पनि रमाइलो लाग्थ्यो । तर हार्दा एकदमै नमज्जा हुन्छ । म भएको भए १०–२० रनमात्र दिएर हुन्छ कि नयाँ बलमा राम्रो गरेर जिताउन सकिन्थ्यो जस्तो मनमा भइरहन्छ,’ सोमपाल चोटलाई खेलको एउटा हिस्साका रूपमा लिन्छन्, ‘क्रिकेट खेलेपछि यस्तो दिन आउँछ भनेर मानसिक रूपमा तयार हुनुपर्छ । म पनि यसका लागि तयार थिएँ । एउटा तीव्र बलरका रूपमा जसरी मैले एक वर्षदेखि भार लिइरहेको थिएँ र बीचमा मलाई टाइफाइड भएपछि शरीर कमजोर भएको अनुभवचाहिँ हुन्थ्यो । दुखाइ महसुस भइरहन्थ्यो । दुखाइ नियमित थियो ।’

अक्टोबरमा ओमानमा सम्पन्न पाँच राष्ट्रसम्मिलित ट्वान्टी–२० प्रतियोगिताबाट दुखाइ एकदमै बढी हुन थालेको उनी बताउँछन् । ‘त्यसपछि मैले सोचिसकेको थिएँ, भार कम गर्नुपर्‍यो भनेर । त्यही समय मेरो प्रोटिन सकियो र शरीर पूरा रिकोभर भएन । खानामा तलमाथि भयो,’ उनले सुनाए, ‘मेरो शरीरले फेरि भिटामिन ‘डी’ पूरा लिएन । बिहानदेखि बेलुका हुन्जेल मैदानमै हुन्थे । त्यस्तो केही अनुभव हुन्थेन । भिटामिन ‘डी’ ले शरीरलाई एकदमै गलाउने, थकित र अल्छी बनाउने रहेछ ।’

लकडाउनमा शारीरिक अभ्यासहरू उनी घरमा गरिरहेका छन् । ५–६ महिनादेखि नियमित अभ्यासमा नरहेकाले यो बीचमा उनी आफ्नो तौल पनि बढेको तथा पिठ्युँको चोटका कारण दौड्न पनि नसकेको बताउँछन् । घर बसेपछि त केही न केही गर्नुपर्‍यो भनेर सामान्य अभ्यासहरू गरिरहेका छन् उनी । लकडाउन कहिले खुला र मैदानमा गएर आफू कति फिट भएको छु भनेर उनलाई जाँच्न मन छ ।

‘कस्तो खाले रिकभरी भएको छ त्यो मैदानमै पुगेर मात्र थाहा हुन्छ । घरमा बस्दा चोटको त्यस्तो अनुभव हुँदैन । अहिले मैले जसरी अभ्यास गरिरहेको छु, त्यसमा खासै भार छैन । त्यसले दुखाइ महसुस हुन दिएको छैन । बलिङ गर्दा धेरै भार पर्छ । बलिङ नगर्दा पूरा फिट छु भन्न मिल्दैन । बलिङ गरेपछि शरीरले कस्तो जनाउँछ त्यसपछि थाहा हुन्छ,’ उनले भने, ‘जिउ त दुख्थ्यो तर यसरी दुखेको थिएनँ । त्यसै पनि मलाई छिट्टै निको हुन्छ जस्तो लाग्छ ।’

घरेलु मैदानमा भएको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल गुमाउनुपरेको पीडा उनमा छ । ‘एकदिवसीय अन्तर्राष्ट्रिय गुमाउनुपर्दा नरमाइलो लाग्यो । हामीले ओमानसँग जित्न सकिन्थ्यो । कहीं न कहीं हामीले यो मौका गुमाउन पुग्यौं । तर ठीक छ भविष्यमा केही न केही त राम्रो भइहाल्छ,’ लकडाउन सकिएपछि फिटनेस परीक्षण गरेपछि मात्र आफू कति फिट रहेको थाहा हुने उनी जनाउँछन् ।

सन् २०१४ मा न्युजिल्यान्डमा भएको एकदिवसीय विश्वकपदेखि उनी नेपाली टोलीमा निरन्तर छन् । त्यसक्रममा घरेलु मैदानमा भएको विश्वकप लिग २ का चार खेल गुमाउँदा पनि उनी नेपालबाट सर्वाधिक रन बनाउने खेलाडी सूचीमा पाँचौं स्थानमा छन् । उनले ६ खेलमा ३६ माथिको औसतमा १ सय ४६ रन बनाएका छन् । उनको औसत नेपाली खेलाडीमा दोस्रो उत्कृष्ट हो । ट्वान्टी– २० अन्तर्राष्ट्रियमा दसौं नम्बरमा ब्याटिङ गर्दै ४० रन बनाएको विश्व कीर्तिमान उनकै नाममा छन् ।

एकदिवसीय अन्तर्राष्ट्रियमा सोमपालले १३ विकेट लिएका छन् । उनीभन्दा बढी विकेट नेपालबाट सन्दीप लामिछाने (२३) ले मात्र लिएका छन् । नेपालबाट विकेट लिनेक्रम फेरि कहिलेबाट सुरु हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘बलिङ गरेपछि कस्तो अनुभव हुन्छ त्यसपछि मात्र पुनरागमन गर्न सकिन्छ कि सकिन्न थाहा हुन्छ । राष्ट्रिय टोलीमा पूर्ण फिट खेलाडी चाहिन्छ । जबसम्म फिट हुदिनँ त्यतिबेलासम्म म खेल्न योग्य हुन्नँ ।’

सम्वन्धित समाचार

Leave a Comment