यसपालि नेपालको झण्डा सबैभन्दामाथि भयो

१ जेठ, काठमाडौं । २०७५ साल, असार १५ गते । शनिल शाहीलाई दोहोरो दबाब थियो । एकातर्फ बक्सिङ खेल, अर्कोतर्फ स्नातक तहको परीक्षा ।

स्नातक दोस्रो वर्षको अंग्रेजीको परीक्षाकै दिन लैनचौरमा प्रकाश दाहाल स्मृति बक्सिङको क्वाटरफाइनल खेल थियो । दुई खेल जितेर उनले क्वाटरफाइनलमा स्थान बनाएका थिए । परीक्षा रोज्ने कि खेल ?

अंग्रेजी परीक्षा छाडेर बक्सिङ खेल्न हान्निए शनिल । तर, नतिजा सोचेजस्तो आएन । परीक्षा पनि छुट्यो, बक्सिङमा पनि हारे । नक्सालका किशोर शर्मासँग अंकका आधारमा उनी पराजित भएका थिए ।

घरमा कसैलाई नभनी उनी बक्सिङ खेल्न गएका थिए । असफलता हात लागेपछि उनी निराश बने । बाँकी परीक्षा पनि दिन सकेनन् । एक–दुई दिन एक्लै झोक्राएर बसे ।

पढाइ छाडेर बक्सिङ रोजेका शनिलको खेल करिअरमा यो एउटा ठूलो धक्का थियो । तर, अब यो सबै इतिहास बनिसकेको छ । अहिले उनले नयाँ परिचय पाएका छन्– साग गोल्ड मेडलिस्ट ।

कुनै समय ज्यान बनाउनका लागि उनी जिम जोइन भएका थिए । तर, उनको अभिरुचि त्यही जिमबाट बक्सिङतर्फ मोडियो । मेहनत गरे । भाग्यमानी समेत बने । नेपालमै भएको १३ औं सागमा उनले ६० केजी तौल समूहमा स्वर्ण पदक जिते । फाइनलमा भारतीय खेलाडी वरिन्दर सिंहलाई हराएपछि उनको स्वर्ण पक्का भएको थियो ।

छोटो समयमै यो सफलता अनि ओलम्पिक क्वालिफायरसम्मको यात्रा । शनिल आफैँ रोमाञ्चित बन्छन्, आफ्नै कहानी सुनाउँदा । टोकियो ओलम्पिकको छनोटसम्म पुगेका थिए, शनिल । थोरै खेलाडीले मात्र यति कम उमेरमा यस्तो सौभाग्य पाउँछन् ।

हुन त शनिलले अहिलेसम्म ३ मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । तर, २१ वर्षको उमेरमै उनले हासिल गरेको सफलताले भविष्यमा उनले राम्रो गर्न सक्ने सम्भावना देखाइसकेको छ । शनिलले भारत र किर्गिस्तानका खेलाडीलाई पराजित गरिसकेका छन् । ओलम्पिक खेल्ने र प्रो–बक्सिङ खेल्ने उनको आगामी लक्ष्य छ ।

०००

प्रकाश दाहाल स्मृति बक्सिङ खेल्नुअघि शनिलले दुईवटा बक्सिङ प्रतियोगिता खेलेका थिए । २०७४ पुषमा झापामा उनले आफ्नो करिअरकै पहिलो बक्सिङ खेलेका हुन् । पहिलो खेलमा उनी युकेश नगरकोटीसँग पराजित भएका थिए । सुरुवात राम्रो भएन । तर, बक्सिङको नशाले भने छाडेन ।

उनी झापामा पराजित भएपछि निराश भएर काठमाडौं आए । पहिलो एम्याचोर टुर्नामेन्ट खेलेको करिब ६ महिनापछि उनले प्रो–बक्सिङ नै खेले । २०७५ जेठ २७ मा मनोहर बस्नेत म्याक्सले आयोजना गरेर एक फाइटको प्रोमा उनले चितवनका आकाश सुवेदीलाई हराए । पहिलो प्रतियोगितामा पराजित भएका शनिलले प्रो बक्सिङको पहिलो खेल जितेर सात हजार नगद पुरस्कार समेत पाए ।

‘मैले आफैँ जिद्दी गरेर म्याक्स दाइसँग खेल्न अनुरोध गरेपछि दाइले एक खेल खेल्न दिनुभयो । एकै पटक प्रो खेलेको पहिलो गेम नै जितेँ,’ उनले सुनाए ।

सात हजारको पुरस्कार जित्दा उनले दुई हजारको त चलकेट नै किनेर बाँडिदिए । जुत्ता पनि किने आफ्नो लागि ।

झापा र प्रो बक्सिङपछि उनले प्रकाश दाहाल स्मृति बक्सिङ खेलेका थिए । त्यसपछि शनिल झनै बक्सिङमा तल्लीन हुन थाले । पढाइ नै छाडेर बक्सिङमै केही गर्छु भन्ने अठोट लिएर अघि बढे ।

त्यसको प्रभाव उनले देखाइहाले । जोसँग उनी परीक्षा छाड्दा हारेका थिए उनैलाई काठमाडौं जिल्ला छनोटमा पराजित गर्दै शनिलले आठौं राष्ट्रिय खेलकुद छनोटको पहिलो खुड्किलो पार गरे ।

त्यसपछि पोखरामा क्षेत्रीय छनोट भयो । जहाँ उनले पहिलो चरणमा प्रो–बक्सिङमै हराएका चितवनका आकाशलाई हराए । फाइनलमा ललितपुरका जोनिस राईलाई पराजित गर्दै प्रदेश ३ बाट आठौं राष्ट्रिय खेलकुदमा स्थान पक्का गरे ।

आठौंको जिल्ला छनोटपछि उनले वसन्तपुरमा गणेशमान सिंह स्मृति फाउण्डेसनले आयोजना गरेको बक्सिङ खेलेका थिए । तर, ४ खेल जिते पनि उनले त्यहाँ पदक जित्न सकेनन् । ओमबहालमा बस्ने शनिल घर नजिकै भएको खेलमा पदकविहीन बने । एक बहादुर घलेले टाउकोमा प्रहार गरेपछि उनी घाइते नै भएका थिए ।

शनिलको लक्ष्य आठौं राष्ट्रिय खेलकुदमा पदक जित्ने थियो । त्यसैले उनले अझै मेहनत गरे । २०७५ चैत र २०७६ वैशाखमा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा उनले कास्य पदक मात्र हात पारे ।

खासमा उनले आफ्नै गल्तीले कास्यमा खुम्चिनु परेको थियो । पहिलो खेल जितेपछि शनिलले कम्तीमा कास्य पदक पक्का गरिसकेका थिए । तर, बेलुका होटल गएर ट्रेनिङ गर्नु उनका लागि दुर्भाग्य बन्यो ।

‘बेलुका ट्रेनिङ गर्ने क्रममा खाल्डोमा खुट्टा परेर मर्कियो । भोलिपल्ट उठ्दा खुट्टा सुन्निएको थियो,’ शनिलले भने, ‘तर, मैले कसैलाई नभनी पेन किलर खाएर सेमिफाइनल खेल खेलेँ ।’

सेमिफाइनलमा उनको भिडन्त एपीएफका प्रकाश लिम्बुसँग थियो । घाइते खुट्टाले खेल जित्न सकेनन् । कास्य पदक लिएर घर फर्किए ।

आठौं राष्ट्रिय खेलेको ७ महिनापछि त शनिलले ठूलै उपलब्धि हासिल गरे । देशका लागि स्वर्ण पदक नै जिते । यो अवधिमा शनिलको खेल अन्तर्राष्ट्रिय स्तरमा भयो । थाइल्याण्ड ओपनमा पदक जित्न नसकेको भोक उनले घरेलु रिङमा सागमा स्वर्ण जितेर पूरा गरे ।

०००

आठौं राष्ट्रियमा स्वर्ण जितेका खेलाडी मात्र सागको लागि क्याम्पमा राख्ने व्यवस्था थियो । स्पायरिङको लागि रजतसम्मलाई क्याम्पमा अवसर थियो । तर, शनिलले कास्य मात्र जितेका थिए । उनको भाग्य त्यतिखेर चम्कियो जतिखेर स्वर्ण र रजत जित्ने दुवै खेलाडी विदेशिए ।

खासमा राष्ट्रिय खेलकुदमा स्वर्ण रजत जितेका खेलाडीहरू सागको क्याम्पमा सिधै सहभागी हुन पाउने थियो । जसले शनिलको सम्भावना कम भइसकेको थियो । तर, भाग्यले शनिललाई साथ दियो ।

सागका लागि अन्तिम छनोट हुनुअघि शनिलले थाइ ओपनमा प्रतिस्पर्धा गरेका थिए । त्यसका लागि पनि छनोट भएको थियो । जहाँ उनले इन्द्रबहादुरलाई पराजित गरे । त्यसअघि नेपालले भारतमा इन्डिया ओपन खेलेको थियो ।

आठौंमा कास्य मात्रै जितेका शनिलले थाइ ओपनका लागि राष्ट्रिय क्याम्पमा रहँदा भत्ता, डाइट केही पाउँदैन’थे । सबै आफ्नै खर्चमै गर्नुपथ्र्यो ।

‘सबैको भत्ता, डाइट आउँ’थ्यो । मैले केही पाउँने थिइन । साइकल चलाएरै जान्थे । मेहनत गर्थे । आफ्नै खर्च गरेर ट्रेनिङ गर्थे,’ उनले भने ।

इन्द्रबहादुरलाई हराएर शनिलले थाइल्याण्डमा खेल्ने अवसर पाए । त्यो नै उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । तर, त्यहाँ एक खेल पनि जित्न नसक्दा निराश बनेर फर्किए ।

थाइ ओपन खेलेर आएपछि १३ औं सागका लागि फेरि छनोट हुने भयो । शनिललाई अर्को फाइदा भयो । आठौं सागमा स्वर्ण र रजत विजेता नेपालमा थिएनन् । प्रकाश लिम्बु बहराइन लागेका थिए । एकबहादुर भने कतार लागे । त्यसैले उनको पालो आयो ।

‘आठौं जितेका दुवै खेलाडी विदेश गए । आर्मीले विमल रोक्कालाई ल्याएको थियो । तर, ऊ बिरामी भएकोले खेल्न सकेन । म वाकओभर पाएर सिधै विजेता भएँ,’ शनिनले भने ।

सागमा छनोट भएपछि भने उनको दैनिकी फेरियो । घर जान नपाउने र क्याम्पमै बस्नुपर्ने भयो । भत्ता, डाइटहरू पाउन थाले । थाइ ओपनलगायत सबैको गरेर दुई लाख जति भत्ता आएको थियो । त्यसबाट उनले बक्सिङका सामान किने । महँगा ग्लोब्स विदेशबाट मगाए । जुत्ताहरू किनेँ । शनिल ग्लोभ्स र जुत्ताका सौखिन पनि हुन् ।

०००

२०७६ मंसिर २४ गते । सातदोबाटोस्थित नेसनल कराँते एकेडेमीको हल ।

बक्सिङको आफ्नै हल नभएकोले १३ औं सागको बक्सिङका खेलहरू कराँते एकेडेमीमै भएका थिए । सागको अन्तिम दिन बक्सिङ र फुटबलमा नेपालले स्वर्णका लागि खेल्दै थियो ।

२१ वर्षीय शनिल शाही विजेता बन्दै नेपालको स्वर्ण संख्या ५० पु‍¥याए । त्यसअघि नेपालका लागि मिनु गुरुङ र भुपेन्द्र थापा मगरले स्वर्ण जितिसकेका थिए । शनिल पनि त्यो सूचीमा अटाउन चाहन्थे । शनिलले स्वर्ण मात्र जितेनन्, राखेपका सदस्य सचिव रमेश सिलवालले राखेको ५० स्वर्णको लक्ष्य पनि पूरा गरिदिए ।

साग खेल्न पाउनु नै ठूलो कुरा थियो उनका लागि । रजत वा कास्य पदकमै खुसी हुने मुडमा थिए । तर, हात लाग्यो स्वर्ण ।

शनिलले फाइनलमा हराएका भारतीय खेलाडी वरिन्दर सिंहका केही फुटेजहरू एक महिनाअघिदेखि नै हेरेका थिए । तर, फाइनलमा उनीसँग खेल्नुअघि शनिल केही तनावमा थिए ।

‘फाइनलअघि एकदमै टेन्सन थियो । यो गेम जितेर देशको इज्जत राख्नुपर्छ भन्ने मात्र सोचेको थिएँ,’ शनिल सम्झन्छन् । त्यसअघि उनले भुटान र श्रीलंकाका खेलाडीलाई हराएका थिए । भुटानमा निमा दोर्जीलाई हराएर पदक पक्का गरेपछि नै शनिललाई एक प्रकारको सन्तुष्टि भइसकेको थियो ।

‘मैले सागमा क्वाटरफाइनलमा हराएको भुटानीले एक वर्षअघि नेपालका प्रकाश लिम्बु र एक बहादुर घलेलाई हराएको थियो । त्यसैले पहिलो खेलमा उसलाई जित्दा बेग्लै सन्तुष्टि भयो,’ शनिनले भने ।

त्यसपछि उनले सेमिफाइनलमा श्रीलंकन खेलाडीलाई सहजै हराएर फाइनलमा भारतीय खेलाडीसँग भिडन्त पक्का गरेका थिए ।

‘भारतीय खेलाडीको एउटा स्पाएरिङ रहेछ । त्यसैलै उसँग कसरी खेल्ने होला भन्ने कौतुहलता भइरा’थ्यो,’ शनिल भन्छन्, ‘त्यसैले कोचसँग परामर्श गरिहालेँ ।’

सागका लागि उज्वेकिस्तानबाट कोच आएका थिए । शनिलले उनीसँग सुझाव लिए ।

‘उहाँले अलि फरक तरिकाले खेल्न सुझाव दिनुभयो । मैले पनि अघिल्लो दुई खेलभन्दा अर्कै प्लान गरेर खेलेँ,’ उनले भने । त्यसमा उनी सफल पनि भए । विजेता भएपछि रिङमै रमाए । आफ्नो जितले नेपाललाई ५० औं स्वर्ण दिलाएको थाहा पाउँदा झनै खुसी भए ।

‘घरेलु दर्शकको अगाडि खेल जित्नु एकदमै गौरवको क्षण थियो मेरा लागि । दर्शकको उत्साहले आफू थाके पनि जित्छु भन्ने जोश आउने रहेछ । थाकेको अनुभव नै भएन,’ घरेलु दर्शकको फाइदा शनिलले भरपुर उठाए ।

उनको खेल हेर्न परिवार नै आएका थिए । रिङमा झण्डा उठाउँदा उनको आँसु नै रोकिएन । देशको झण्डा उचाल्ने उनको पुरानो सपना पूरा भएको थियो ।

शनिल भन्छन्, ‘खासमा सागअघि हामी थाइ ओपन खेल्न जाँदा हाम्रा कुनै खेलाडीले जित्न सकेनन् । मेडल पाएनौँ । सेरेमोनीमा आफ्नो झण्डा नदेख्दा साह्रै दुःख लागेको थियो । उनीहरूको राष्ट्रिय गान बजेर झण्डा सरर माथि जाने, हाम्रो झण्डा तलको तलै । त्यसपछि नै मैले आफ्नो झण्डा पनि माथि लैजान्छु भन्ने अठोट लिएको थिएँ ।’

‘मैले साग जितेपछि आफ्नै झण्डासँग कुरा गरेँ । आँसु रोकिएन । सबैले तानातान गर्न थाले । एकदमै रमाइलो लागेको थियो । यसपटक आफ्नै झण्डामाथि भयो,’ शनिलले आफ्नो सपना पूरा हुँदाको अनुभव सुनाए ।

सागमा स्वर्ण जितेका मिनु गुरुङ र शनिल जोर्डनको अम्मानमा टोकियो ओलम्पिक २०२० को एसियन र ओसियन छनोट खेल्न गए । त्यहाँ शनिलले ६३ केजी तौल समूहमा प्रतिस्पर्धा गरे । उनको तौल समूहबाट ६ खेलाडी ओलम्पिकमा छनोट हुने थिए ।

पहिलो खेलमा किर्गिस्तानका खेलाडीलाई पराजित गर्दै दोस्रो चरणमा पुगेका शनिल तुर्किमिनिस्तानका खेलाडीसँग पराजित भए । उक्त खेल जितेको भए क्वाटरफाइनल पुग्ने थिए र ओलम्पिकको नजिक हुने थिए । तर, अनुभवको कमीले गर्दा ढोकैमा पुगेर फर्कनुपरेको शनिलको अनुभूति छ ।

‘ढोकामै पुगेर भित्र जान नपाएको जस्तो भयो । अर्को खेल जितेको भए ओलम्पिकमा पुग्थेँ । मलाई हराउने बक्सरले एसियन च्याम्पियनसिपमा बेस्ट बक्सर अवार्ड जितेको रहेछ,’ उनले भने ।

त्यही तौल समूहमा १३औं सागमा नेपालका भुपेन्द्रले पराजित गरेका भारतीय बक्सर कौषिक भने ओलम्पिकमा छनोट हुन सफल भए । त्यसैले त शनिल भन्छन्, ‘बक्सिङ खेल नै यस्तो हो कि यहाँ जे पनि हुन सक्छ ।’

०००

दुब्लो भएर जिम गर्न जाँदा शनिलले त्यहीँबाट बक्सिङ सिके । जुन अन्ततः उनको करियर नै बन्यो ।

उनी पुराना दिनमा फर्किन्छन्, ‘फुपु जुम्बा जानुहुन्थ्यो । म दुब्लो भएकोले मलाई पनि जिम गर्न पठाउनुभयो । रेट्रो जिम नजिकै थियो । म एक महिना मात्र जिम गएँ । जिमका मालिक विदेश गएपछि जिम नै बन्द भयो । त्यसपछि बक्सिङ सुरु गरेँ ।’

जिम बन्द भएपछि गुरु राजु श्रेष्ठले रंगशालामा ट्रेनिङ गर्ने भनेर शनिललाई पनि लैजाने भए । सुरुमा रंगशालाको प्याराफिटमुनि ट्रेनिङ गर्न थाले । अरू ३–४ जना थिए । उनीहरू कहिले आउने–नआउने गर्थे । तर, उनी रेगुलर जान्थे । शनिलमा बक्सिङको रस पसिसकेको थियो । त्यहाँ एक वर्ष ट्रेनिङ गरेँ ।

त्यसको एक वर्षपछि नै शनिलले झापाबाट बक्सिङको सुरुवात गरे । टेकुको नेपाल युथ बक्सिङ क्लबको प्रतिनिधित्व गरेर गुरु राजु श्रेष्ठसँगै शनिल झापा गएका थिए नयाँ करियरको सुरुवात गर्न । तर, त्यहाँ राम्रो अनुभव भएन । तर, उनले करियरमा हार मानेनन् । बक्सिङमै रमाउन थाले ।

शनिल घरमा बुबा आमाको एक्लो छोरा थिए । बुबाआमाको चाहना छोराले बक्सिङ छोडेर अरू नै काम गरोस् भन्ने थियो । बक्सिङ खेल्दा पिटाइ खाइन्छ, नाक भाँचिन्छ भनेर डराउँथे । तर, शनिलले ढिपी छाडेनन् ।

बुबाको मन चाहिँ शनिललाई वकिल बनाउने थियो । नभए पत्रकार । शनिलका बुबा बुद्धशरण शाही पनि पत्रकार नै थिए । रेडियो मिर्मिरेका लागि काम गर्ने र फोटो खिच्ने गर्थे । शनिल आफैँ पनि फोटो खिच्न रुचाउँथे ।

परिवारको इच्छा विपरीत शनिलले बक्सिङ खेलेरै सफलता पाए । सागमा स्वर्ण जितेपछि भने परिवार खुसी हुन थालेका छन् । बुबाले एसियन गेम्ससम्म पुग्नुपर्छ भनेर हौसला दिइरहेको उनले सुनाए । तीन वर्ष त भयो शनिलको करिअरले नयाँ मोड लिएको ।

१३औं सागको स्वर्ण जितेको पुरस्कार उनले चार महिनापछि प्राप्त गरेका छन् । उनको हातमा नौ लाख रुपैयाँ परेको छ । अहिले केही रकम बुबालाई ऋणसमेत दिएको उनले बताए । उनको बाइक किन्ने योजना पनि छ ।

‘अरूले पनि साग गोल्ड मेडलिस्ट साइकल चलाएर आउँछ भनेर जिस्क्याउँछन् । एउटा बाइक त किन्नैपर्छ भन्ने लागेको छ । लकडाउनपछि किन्छु होला,’ उनले सुनाए ।

०००

अहिले कोभिड–१९ को महामारीले गर्दा नेपाल लकडाउनमा छ । तत्कालै कुनै प्रतियोगिता छैन । विश्वभर सबै खेलकुद प्रभावित बनेको छ ।

कोभिड–१९ ले गर्दा जुलाई–अगस्टमा हुने भनिएको टोकियो ओलम्पिकसमेत सरेको छ । शनिलले ओलम्पिकको एसिया छनोट खेलिसकेका छन् । तर, वल्र्ड क्वालिफायर अझै बाँकी रहेकोले आश मारेका भने छैनन् ।

‘अबको योजना भनेको वल्र्ड क्वालिफायर खेल्ने र मौकाको सदुपयोग गर्ने हो । टोकियो ओलम्पिकको लागि अर्को चान्स छ । यो चान्स खेर जान दिन्न,’ शनिलले भने ।

यसअघि ओलम्पिक क्वालिफायर खेलेको अनुभव उनीसँग छ । शनिललाई ओलम्पिक आफ्नै लागि सरेको हो कि जस्तो लाग्छ । त्यसैले यो एक वर्ष सदुपयोग गर्ने योजनामा छन् ।

‘तिमी तयार होऊ भनेर यो एक वर्ष मेरै लागि सरेको जस्तो लाग्छ । अब अनुभव लिन्छु । अर्को अब चार वर्ष कुर्ने धैर्य छैन,’ उनले भने ।

शनिलको अर्को सपना पनि छ, प्रो बक्सिङ खेल्ने । उनलाई युक्रेनका प्रो बक्सर भ्यासिल लोमाचन्को खुबै मनपर्छ ।

‘उनको सबै खेलहरू हेर्ने गरेको छु । खेल्ने तरिका पनि मनपर्छ । अवसर पाए कुनै दिन उनलाई भेट्ने रहर पनि छ,’ शनिलले भने ।

एम्याचोरमा भने शनिललाई भारतीय बक्सर विकास कृसन यादव मनपर्छ । दुई पटक ओलम्पिक खेलिसकेका यादव तेस्रो पटक ओलम्पिकका लागि छनोट भएका छन् । टोकियो ओलम्पिक छनोटकै बेला जोर्डनमा शनिलले उनलाई भेटेका थिए ।

शनिलले बक्सिङबाहेक अरू केही नसोचेको समेत बताए ।

‘मैले बक्सिङलाई नै करियर बनाउने सोचेको छु । यसको लागि मैले पढाइ समेत छाडेँ । मेरो आफ्नै लक्ष्यहरू छन्,’ शनिलले भने ।

शनिललाई गितार बजाउन, पुस्तकहरू पढ्न, फिल्महरू हेर्न मनपर्छ । स्केचिङ पनि गर्छन् कहिलेकाँही ।

लकडाउनको समयमा शनिलले ट्रेनिङ गर्न पाएका छैनन् । अहिलेको दैनिकी घरमै खाने र बस्ने मात्रै छ । लकडाउन कति समय हुन्छ भन्ने थाहा नभएकोले उनले घरमा ट्रेनिङका लागि सामान लैजान पनि भ्याएनन् ।

‘अहिले हात चिलाएको छ । केही हान्न पाएको छैन,’ शनिलले भने, ‘धेरै खाएर मोटाइसकेँ । तौल ७० केजी पुगेर शरीर नै भारी भइसक्यो ।’

लकडाउनमा पनि गुरुहरू र विदेशी कोचसँग भिडियो कलमा कुराकानी भने भइरहेको उनले बताए ।

सम्वन्धित समाचार

Leave a Comment