दिल्लीबाट आएका ज्वरोका विरामीलाई अस्पतालले घर फर्काएपछि…

इनरुवा, ९ बैशाख । भारतको दिल्लीबाट फर्किएका सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ७ का एक पुरुषलाई बसोबासको व्यवस्था मिलाउन वडा कार्यालयलाई समस्या परेको छ ।

अन्दाजी २४ वर्षका ती व्यक्तिलाई वडा कार्यालयको समन्वयमा नेपाल भारत सीमाको जोगबनीबाट ल्याइएको थियो ।

ज्वरो आएको हुँदा परिवारको आग्रहमा जोगबनीबाट एम्बुलेन्समा राखी इनरुवा अस्पताल पुर्याईएका बिरामीलाई स्वास्थ्यकर्मीले होम क्वारेन्टाइनमा राख्न भनि फर्काएकाले समस्या उत्पन्न भएको वडा अध्यक्ष किशोर सिङले बताउनुभयो ।

सिङका अनुसार अस्पतालबाट घर फर्काइएका व्यक्तिको सम्वन्धमा छिमेकी वडावासीहरुले बिरोध जनाएपछि पुनः एम्बुलेन्समा इनरुवा लगिएको थियो ।

प्रहरी प्रशासनले बिरामीलाई घरमै राख्न भन्दै पुनः फर्काएपछि बिरामी व्यक्तिको बसोबास र उपचारमा थप समस्या उत्पन्न भएको उहाँले बताउनुभयो ।

ज्वरो आएर थलिएका बिरामीलाई उनको परिवारले घरमा राख्न खोजेपनि सम्भावित जोखिम बढ्ने भन्दै छरछिमेकीले नमानेको बुझिएको छ । वडा अध्यक्षले भन्नुभयो, ‘बिदेशबाट आएका व्यक्तिलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्नु पर्ने हुन्छ । त्यसमापनि ज्वरो आएको बिरामी भएकाले थप सर्तकता अपनाउनु पर्नेमा होम क्वारेन्टाइना राख्न भन्नु दुर्भाग्यपूर्ण छ ।’

क्वारेन्टाइनमा राख्न प्रहरी प्रशासनको सिफारिस आवश्यक पर्ने र अनुमति नदिइएकाले के गर्ने भन्ने अन्यौल बढाएको वडाअध्यक्ष सिङले सुनाउनुभयो ।

इनरुवा नगरपालिकाले सञ्चालनमा ल्याएको क्वारेन्टाइन व्यवस्थापकहरुले भने आफुहरुलाई सो विषय जानकारीमा नरहेको बताएका छन् । प्रहरी र सिडियो कार्यालय मार्फत जानकारी आएपश्चात मात्र सम्वन्धित व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने गरिएको उनीहरुले बताएका छन् ।

भारतबाट फर्किएर आएका व्यक्ति ज्वरो आएर अस्पताल लगिदा बिरामीलाई होम क्वारेन्टाइमा राख्न भनिएको विषयमा इनरुवा अस्पतालले बिरामीको स्याहार सुसार गर्न आवश्यक पर्ने भएकाले समेत तत्काल घरमा राख्न भनिएको बताएको छ ।

यता इनरुवा अस्पतालले भने पीसीआर गर्न बोलाएर परीक्षण गर्ने गरी घर फर्काइएको जनाएको छ ।

सम्वन्धित समाचार

Leave a Comment