नेपालले स्कटल्यान्डमा खेल्ने त्रिकोणात्मक सिरिज पनि स्थगित

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आइसिसी क्रिकेट विश्वकप २०२३ को छनोट प्रतियोगिताको रुपमा रहेको आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले खेल्ने अर्को सिरिज स्थगित गरेको छ।

बुधबार बसेको बोर्ड बैठकले आगामी जुलाई ४ देखि ११ सम्म स्कटल्यान्डमा हुने तय नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिज स्थगित गर्ने निर्णय गरेको हो।

योसँग नेपालले लिग-२ मा खेल्ने तय भएका तीन वटा त्रिकोणात्मक सिरिज लगातार स्थगित भएका छन्।

आइसिसीले संसारभर फैलिरहेको कोरोनाभाइरसको संक्रमणका कारण सिरिजहरु स्थगित गरेको हो।

यसअघि अप्रिल २० देखि २७ सम्म नामिबियामा हुने तय नेपाल, नामिबिया र स्कटल्यान्डबीचको सिरिज स्थगित भएको थियो।

जुन ९ देखि १६ सम्म पपुवा न्युगिनीमा हुने तय नेपाल, युएई र पपुवा न्युगिनीबीचको त्रिकोणात्मक सिरिज पनि स्थगित गरिएको थियो।

लिग-२ मा ७ देशबीच प्रतिस्पर्धा भइरहेको छ।

लिगमा नेपालले अहिलेसम्म ४ खेल खेलेको छ। चार मध्ये २ खेलमा जित हात पारेको नेपाल छैटौं स्थानमा छ।

शीर्ष स्थानको ओमानले १० खेलबाट १६ अंक, दोस्रो स्थानको अमेरिकाले १२ खेलबाट १२ अंक, तेस्रो स्थानको स्कटल्यान्डले ८ खेलबाट ९ अंक, चौथो स्थानको नामिबियाले ७ खेलबाट ८ अंक र पाँचौ स्थानको युएईले ७ खेलबाट ७ अंक जोडेका छन्।

पुछारको पपुवा न्युगिनीले ८ खेल खेल्दा अंक जोड्न सकेको छैन।

लिगमा एक टिमले २ वर्षको अवधिमा ३६ एकदिवसीय खेल खेल्नेछ।

सम्वन्धित समाचार

Leave a Comment