अग्रता जोगाउन नसक्दा बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी, १४ असार । स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोसँग २-२ गोलको बराबरी खेलेको हो ।

सेल्टा भिगोको घरेलु मैदानमा बार्सिलोनाले लिएको दुई पटकको अग्रता जोगाउन नसक्दा बराबरी खेल्न परेको हो । खेलको २० औं मिनेटमा बार्सिलोनाले सुआरेजको गोलमा सुरुवाती अग्रता लिएको थियो । कप्तान मेस्सीले झन्डै २२ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकमा सुआरेजले ६ यार्ड बक्स अगाडीबाट हेडरमार्फत गोल गरेका थिए ।

५० औँ मिनेटमा घरेलु टोलीका लागि फोयोडर समोलभले सेल्टा भिगोका लागि बराबरी गोल फर्काए । ओके योकुस्लुले जेरार्ड पिकेको चुनौती पार गर्दै दिएको पासमा अनमार्क रहेका स्मोलोभले सहजै गोल गरेका थिए ।

६७ औं मिनेटमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई पुन: अग्रता दिलाए । उनले मेस्सीले पेनाल्टी क्षेत्रभित्र दिएको पासमा गाेल गरका थिए ।

निर्धारित समयको तीन मिनेट बाँकी रहँदा सेल्टाले पुन: खेल बराबरीमा ल्यायो । सेल्टाका कप्तान इयागो आस्पासले पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए ।

बराबरीसँगै बार्सिलोनाले ३२ खेलबाट ६९ अंक जोड्दै शीर्ष स्थानमा आफूलाई उभाएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको रियल मड्रिडको ६८ अंक छ । एस्पान्योललाई पराजित गरेमा रियल म्याड्रिडले २ अंकको अग्रता लिनेछ । उता सेल्टा भिगो ३४ अंक सहित १६ औँ स्थानमा छ ।

सम्वन्धित समाचार

Leave a Comment