आफू नहतारिएकोले नेकपा ठूलो दुर्घटनाबाट बच्यो : पुष्पकमल दाहाल प्रचण्ड

चितवन, २७ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफूले हतार गरेको भए पार्टी दुर्घटनामा पर्न सक्ने बताउनुभएको छ ।

चितवन पुग्नुभएका अध्यक्ष दाहालले माडीमा शनिबार नेता/कार्यकर्ताहरुसँगको छलफलमा पार्टीभित्रको विवादबारे जानकारी गराउनुभएको थियो ।

उहाँले पार्टी एकता बलियो बनाउन आफू प्रयासरत् रहेको उल्लेख गर्नुभयो । उहाँ अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्तालाई निरन्तरता दिने बताउनुभयो । छलफलबाटै पार्टीमा देखिएको विवाद समाधान गर्न आफू सक्रिय बनेको उहाँको भनाइ थियो ।

स्थायी कमिटी बैठक साउन २ गतेसम्म स्थगित भएपछि अध्यक्ष दाहाल चितवन पुग्नुभएको थियो । अध्यक्ष दाहालले नारायणी र राप्ती नदी कटान क्षेत्रको स्थलगत निरीक्षण गर्नुभयो ।

निरीक्षणका क्रममा अध्यक्ष दाहालले नारायणी र राप्ती नदीको कटान क्षेत्रलाइ एक वर्षभित्र सुरक्षित बनाउने गरी काम अगाडि बढेको बताउनुभयो ।

प्रधानमन्त्रीसँगको छलफलको समयतालिका भए पनि आफ्नो क्षेत्रमा प्रभावित ठाउँको निरीक्षणका लागि आएको उहाँले बताउनुभयो । आफू प्रधानमन्त्रीसँगकै परामर्शमा बाढीपहिरोको अवस्थाबारे बुझ्न चितवन आएको पनि उहाँले जानकारी गराउनुभयो ।

उहाँले तत्कालका लागि अस्थायी समाधानको काम नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले गरिरहेको बताउनुभयो ।

सम्वन्धित समाचार

Leave a Comment