आठ गोलको थ्रिलरमा लिभरपुलद्वारा चेल्सी पराजित

एनफिल्डमा आठ गोलको थ्रिलरमा चेल्सीलाई हराउँदै लिभरपुलले ३० वर्षपछि लिग उपाधि जितेको खुसियाली मनाएको छ । बुधबार राति भएको खेलमा लिभरपुल ५–३ गोलअन्तरले विजयी बनेको हो ।

खेलमा नाबी किएटाले लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसपछि ट्रेन्ट अलेक्सान्डर आर्नोल्ड र जिनी विज्नाल्डमले लिभरपुलको अग्रता फराकिलो बनाए । पहिलो हाफको इन्जुरी समयमा ओलिभर जिरुले एक गोल फर्काए ।

तर, दोस्रो हाफको सुरुवातमा नै घरेलु मैदानमा गोलको खडेरीको अन्त्य गर्दै रोबर्टो फर्मिन्होले पुनः लिभरपुललाई तीन गोलको अग्रता दिलाए । त्यसपछि ट्यामी अब्राहम र क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने आशा दिलाए । तर, खेलको ८४ औँ मिनेटमा एलेक्स ओक्सालेड च्याम्बरलिनले गोल गर्दै चेल्सीको पुनरागमनको आशा अन्त्य गरिदिए ।

लिभरपुलले यो सिजन एनफिल्डमा उपलब्ध ५७ मध्ये ५५ अंक बटुल्न सफल रह्यो । प्रिमियर लिगमा घरेलु मैदानमा लिभरपुलले १९ मध्ये १८ मा जीत तथा एकमा बराबरी गर्यो । एउटै सिजनमा घरेलु मैदानमा यति धेरै अंक बटुल्ने चेल्सी (सन् २००५–०६) र म्यान्चेस्टर युनाइटेड (२०१०–११) पछि पहिलो टोली बन्यो ।

लिभरपुलले अब आइतबार न्युक्यासलको सामना गर्नेछ भने च्याम्पियन्स लिगमा स्थान सुनिश्चित गर्न चेलसीले वुल्भस्को आतित्थ्य गर्नेछ ।पराजयसँगै चेल्सी लिगको चौथो स्थानमा खस्किएको छ ।

बुधबार भएको अन्य खेलमा म्यान्चेस्टर युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै रेलिगेसनका लागि संघर्षरत वेस्ट ह्यामसँग १–१ को बराबरी खेलेको छ ।

माइकल एन्टोनियोले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीबाट वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै मार्क ग्रीनवुडले खेल बराबरी गरे ।

बराबरीसँगै वेस्ट ह्याम रेलिगेशनबाट जोगिएको छ भने युनाइटेडको च्याम्यिन्स लिग खेल्ने आशा बलियो बनेको छ । बराबरी पछि युनाइटेड गोलअन्तरको आधारमा चेल्सीलाई उछिन्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

सम्वन्धित समाचार

Leave a Comment